पाँच थुङ्गा

परशुराम अधिकारी

सजाएको छ भने सपना जिन्दगी पृथक लाग्छ
उमङ्ग यदि भए मनमा जिन्दगी अथक लाग्छ
तत्काल प्राप्तिको आशमा हरेस खान्छ मान्छे
जीउने कला भए जिन्दगी पीडामा पनि सार्थक लाग्छ । १

भेटिन्नौ तिमी अचेल तैपनि तिम्रो आश लाग्छ
जति टाढा माया गाढा सम्झनाको प्यास लाग्छ
बुझ्नेले कुरा नबुझेपछि मायाको परिभाषा
तिम्रो अनुपस्थितिमा वसन्त पनि उदास लाग्छ । २

पूरा हुन्नन् कल्पनाले मनका सारा चाहना
हार्छ त्यसले जीवन जो बनाउँछ बहाना
हरदिन नाप्दै जाऊ यात्रा यो जिन्दगीलाई
आफ्नै कर्मले दिन्छ सफलताको शुभकामना । ३

त्यो नभए यहाँ कहाँ कसको आँट हुन्छ
भए त्यो जिन्दगी हराभरा फाँट हुन्छ
हुनेकै पछि लाग्ने स्वार्थी दुनियाँ यो
ऊ पनि आफन्त हुन्छ जब खल्तीमा गाँठ हुन्छ । ४

इमान्दार थिए माक्र्स र लेनिन ‘कम्युनिस्ट’ भए
बेइमान थिए संशोधनबादीहरु ‘कम निष्ठा’ भए
सिद्धान्त र व्यवहारको फरक नबुझ्ने मेरा प्रिय नेताहरु
समयसँगै रुपान्तरण भएर ‘कमाउनिस्ट’ भए । ५

पनौती — १२

Latest News

Upcoming Events

There are no upcoming events at this time.