Secondary logo

गन्दर्भतीर्थ भालेश्वरको पौराणिक, धार्मिक तथा सांस्कृतिक महत्त्व

2025-05-14

गन्दर्भतीर्थ भालेश्वरको पौराणिक, धार्मिक तथा सांस्कृतिक महत्त्व

Author: परशुराम अधिकारी | माया अधिकारी

गन्दर्भतीर्थ भालेश्वरको पौराणिक, धार्मिक तथा सांस्कृतिक महत्त्व

विषय प्रवेश
नेपाल हिमालय पर्वतवेष्ठित वैदिक देश हो । ऋषिमुनिहरुको जन्मभूमि, ज्ञानभूमि, कर्मभूमि र तपोभूमि हो । तिनै ऋषिहरु मध्ये आत्मज्ञानी महर्षि वेदव्यासद्वारा स्कन्दपुराणको रचना गरिएको हो । स्कन्द पुराणमा नीलमत, जालन्धर, केदार, मानस र हिमवत्खण्ड उल्लेख गरिएको छ । यिनै पाँच खण्ड मध्ये हिमवत्खण्डले नेपालका तीर्थस्थल, कुण्ड, प्रकृति, नदी जस्ता विषयवस्तु समेटेको छ ।


हिमवत्खण्डले वर्तमान नेपालको हिमालयको मध्यखण्डलाई जनाउँदछ । यसले नेपालको वैदिक सभ्यता, संस्कृति, भूगोल, इतिहास जस्ता पक्षलाई समेटेको पाइन्छ । स्कन्दपुराण अन्तर्गतको हिमवत्खण्डमा प्रकरण ५ भित्र अध्याय ९० देखि अध्याय १५९ सम्म नेपाल भित्र पर्ने ६४ शिवलिङ्ग अर्थात् शिवतीर्थको चर्चा गरिएको छ । जसमध्ये काभ्रेपलाञ्चोक जिल्लामा कश्यपेश्वर, विकटेश्वर, चण्डेश्वर, धनेश्वर, इन्द्रेश्वर र भालेश्वर गरी ६ ओटा शिवलिङ्ग/शिवतीर्थ रहेका छन् । यस आलेखमा तिनै ६ ओटा शिवलिङ्ग/शिवतीर्थहरु मध्ये पनौती नजिकै रहेको भालेश्वर शिवतीर्थ स्थलको चर्चा गरिएको छ ।


गन्दर्भतीर्थ : पौराणिक चिनारी
हिमवत्खण्ड प्रकरण ५ अध्याय ९९ मा निकुञ्ज पर्वतको गन्दर्भतीर्थमा भालेश्वर रहेको उल्लेख गरिएको छ । शास्त्रीय मान्यता अनुसार दक्षप्रजापतिले आयोजना गरेको यज्ञमा आफ्ना पति महादेवलाई नबोलाएपछि बाबुसँग रिसाएर सतीदेवीले यज्ञकुण्डमा प्रवेश गरी जलेर देह तयाग गरेकी थिइन् । आफ्नी आर्धाङ्गिनीको मृत्युबाट पीडाबोध गरी महादेव सतीदेवीलाई बोकेर पृथ्वी परिक्रमा गर्ने क्रममा निकुञ्ज पर्वतको शिखरमा पुगेका र त्यहाँ सतीदेवीको शरीरबाट निधार (संस्कृत भाषामा भाल) खसेपछि त्यस ठाउँमा लिङ्ग पैदा भएकोले उक्त स्थानको नाम भालेश्वर रहन गएको कुरा हिमवत्खण्डकै अध्याय ९९ श्लोक ६–७ मा उल्लेख गरिएको छ ।


भालेश्वरमा विरुपाक्षले आफुले गरेको पापबाट मुक्त हुन माघ कृष्ण नवमीका दिन रातभर जाग्राम बसेर गन्दर्भतीर्थमा स्नान गरी विधिपूर्वक शिवलिङ्गको पूजा गरेका थिए । यो गन्दर्भतीर्थ लीलावती, सुखस्रवा र रोशमती नदीको संगममा रहेको छ । यसै स्थानमा स्वर्गकी अप्सरा रम्भाको श्राप परेको सुमुख नाम गरेको गन्दर्भले गालव नामका ऋषिलाई भेटेर आफुले रम्भाप्रति गरेको व्यभिचारबाट मुक्त हुन के गर्नुपर्ला भनेर सोधेका थिए । गालव ऋषिले निकुञ्ज पर्वतको थुम्काको शिरमा रहेको शिवलिङ्गमा शिवजी प्रकट नभएसम्म पूजा ग¥यौ भने फल पाउने छौ भनी बताएका थिए । सोही मुताविक सुमुखले निरन्तर महादेवको उपासना गर्दा फागुन कृष्ण अष्टमीका दिन सो लिङ्गबाट शिवको उत्पत्ति भएको र सुमुखको तपस्याबाट खुसी भई वरदान दिएर सोही शिवलिङ्गमा अन्तर्धान हुनुभएको थियो । यसै तथ्यबाट भालेश्वर शिवतीर्थको पौराणिक महत्व झल्किन्छ भने जसले गन्दर्भतीर्थमा स्नान गरी भालेश्वर लिङ्गको पूजा गर्छन् तिनको सम्पूर्ण कामना पूरा भई शिवलोकमा जान पाउने कुरा अध्याय ९९ श्लोक ४५–४७ मा चर्चा गरिएको छ ।


भालेश्वर महादेव : वर्तमान चिनारी
गन्दर्भतीर्थ भालेश्वर महादेव काठमाडौंबाट ३५ कि.मि र पनौती बजारबाट साँढे २ किलोमिटरको दूरीमा दक्षिण पश्चिमपट्टि पर्दछ । पनौती नगरपालिका वडा नं १२ कलाँती भूमिडाँडको रोशी बजार नजिकै भालेश्वर महादेव मन्दिर रहेको छ । मन्दिर छेवैको रोसमती, लिलावती र सुखस्रवा (पौराणिक नाम) हाल रोशी र विहावर नदीको संगममा गन्दर्भघाट रहेको छ । सुमुख नामको गन्दर्भले यसै स्थानमा स्नान गरेको हुनाले यसलाई गन्दर्भघाट पनि भन्ने गरेको पाइन्छ ।


यस मन्दिरको निर्माण कहिले भयो भन्ने यकिन प्रमाण त भेटिएको छैन तर करिव २०० वर्ष पहिले नै भएको अनुमान स्थानीय बुढापाकाहरुको रहेको छ । विभिन्न कालखण्डमा भत्किएर पुननिर्माण गरिँदै आएको भालेश्वर मन्दिर आधुनिक निर्माण सामग्री प्रयोग गरी २०५६ सालमा अन्तिम पटक पुननिर्माण गरिएको थियो । यो मन्दिर शिखर शैलीमा निर्मित छ ।


मन्दिरको छाना तामाको छ भने गजुर पनि तामाको नै लगाइएको छ । मन्दिरको छानाको चार सुरबाट चारओटा नागलाई जमिनतिर फर्काएर राखिएको छ । मन्दिरको पूर्व दिशामा छाता ओढेको अर्धकदको हनुमानको मूर्ति राखिएको छ । पश्चिमतिर पित्तलको नन्दी राखिएको छ । मन्दिरको मूल ढोका अगाडि सिँहका दुईओटा प्रस्तर मुर्ति देख्न सकिन्छ ।


मन्दिर वरिपरि बगैंचा रहेको छ भने कुण्ड, ६४ शिवलिङ्ग, राधाकृष्णको मन्दिर, बुढानिलकण्ठ विष्णु, तीर्थयात्रीका लागि प्रतीक्षालय र चारओटा पाटीसमेत रहेका छन् । मन्दिरको मूल ढोका अगाडि भालेश्वर महादेव गुठी सञ्चालन गर्ने भक्तहरुको शिला पनि राखिएको छ । मन्दिरको गर्भगृहमा भगवान् शिवको प्रतीकका रुपमा शिवलिङ्ग रहेको छ ।


भालेश्वर पावन शिवधाम हो । यहाँ शिव महादेवको पाइला परेको र स्वयम् महादेवको प्रादूर्भाव भएको स्थान भएकोले यो पवित्र शिवालय पनि हो । भालेश्वर महादेवको विराट धार्मिक र सांस्कृतिक महिमा छ । यस मन्दिरमा आई पूजा गरेपछि आप्mना इच्छाहरु पूरा भएको कुरा भक्तजनहरु बताउँछन् । यस मन्दिरमा सबै जातधर्मका मानिसले दर्शन गर्ने गरेको पाइन्छ । यहाँ जिल्ला बासीसहित खास गरी काठमाडौं उपत्यका र पूर्वी तराईका मानिससमेत दर्शन गर्न आउने गर्दछन् । यहाँ विशेष गरी शिवरात्री, बालाचतुर्दशी, तीज, एकादशीमा दर्शनार्थ मानिसहरुको उल्लेख्य भीड लाग्ने गरेको छ । विवाह, व्रतवन्ध, रुद्री, श्राद्ध जस्ता धार्मिक कर्मका लागि पनि भक्तहरु पुग्ने गर्दछन् । यसरी विभिन्न आधारमा हेर्दा भालेश्वरको धार्मिक सांस्कृतिक महिमा उच्च रहेको छ ।


निष्कर्ष
वैदिक कालमा होस या आजको लौकिक कालमा नेपालको हिमवत्खण्ड विश्वका वैदिक सनातनीहरुका लागि एक पावन पुण्यभूमि हो । रोसमती, लिलावती र सुखस्रवा त्रिवेणी संगमको निकुञ्ज पर्वत र गन्दर्भतीर्थको परिचय बोकेको भालेश्वर काभ्रेपलाञ्चोक जिल्लामा पर्ने ६ ओटा शिवतीर्थ मध्ये एक हो । नेपालमा रहेका ६४ शिवलिङ्ग/शिवतीर्थहरुमा अन्यत्र कतै पनि भालेश्वर नामको शिवलिङ्ग/शिवतीर्थ नभएको तथ्य हिमवत्खण्डबाट थाहा पाउन सकिन्छ । सतीदेवीको भाल खसेको हुनाले भालेश्वर नाम रहेको यस ठाउँमा महादेव स्वयम्ले पाइला टेकेको पौराणिक मान्यता छ । लिङ्गबाट महादेव उत्पत्ति भई सोही लिङ्गमा अन्तर्धान भएको प्रसङ्ग हिमवत्खण्डमा उल्लेख भएको छ । गन्दर्भहरुले पूजा गरेको यस शिवलिङ्गमा भक्तिपूर्वक पूजा गर्नाले मुक्ति मिल्ने र शिवलिङ्गको स्पर्श गर्नाले शरीर दिव्य हुने धार्मिक विश्वास रहेको छ ।


सुमुख गन्दर्भले रम्भाको श्रापबाट मुक्त हुन भक्तिपूर्वक भालेश्वर शिवलिङ्गको पूजा गरेपछि पापबाट मुक्त भएर पुनः स्वर्ग गएको दृष्टान्तले भालेश्वर महादेवको विराट शक्ति रहेको अनुमान गर्न सकिन्छ । अतः यस्तो पावन भूमिमा रहने स्थानीय नागरिक, स्थानीय सरकार र सम्बन्धित निकायले भालेश्वरको प्रचार प्रसार गरी यसलाई धार्मिक र सांस्कृतिक पर्यटनसँग जोड्न सक्रियतापूर्वक लाग्नु आजको आवश्यकता रहेको छ ।

सन्दर्भ सूची
१. ढकाल, वेणीमाधव (२०७५) हिमवत्खण्ड, विद्यार्थी पुस्तक भण्डार
२. लाकोजू, सूर्यप्रसाद (२०६५) पनौती, सविताकुमारी श्रेष्ठ प्रकाशन
३. पनौती नगरपालिकाको कार्यालय (२०७९), हाम्रो पनौती, (स्थानीय पाठ्यक्रम कक्षा ८) पनौती नगरपालिका प्रकाशन
४. अधिकारी, परशुराम, अधिकारी, माया (२०२५) पनौती भालेश्वर महादेव मन्दिर : एक अध्ययन एवं विश्लेषण, पुण्यवती जर्नल, भोलुम–१ (७९–८८)
५. पनौनी नगरपालिकाको कार्यलय (२०८०/०८१),संस्कृति तथा पर्यटन, वार्षिक बजेटनीति तथा कार्यक्रम आ.व. २०८०/८१ (पृष्ठ ३–४)

ॐ नमः शिवाय !!! हर हर महादेव !!!

परशुराम अधिकारी | माया अधिकारी
पनौती –१२, भालेश्वर
(काभ्रेली गुञ्जन २०८२ मा प्रकाशित)

logo

Cultivating Socially Responsible & Sensible Citizens

  • CONTACT
  • Administration: 011-490561
  • +2 Office: 011-490561
  • Accounts: 011-490395
  • Hotline: 9849016016
  • kuhs@ku.edu.np

FIND US HERE

JG5X+35P, Chaukot, Kavre, B.P.Highway, Panauti

© 2022 Kathmandu University High School, Powered by InGrails